गस्तीमा गणराज्य
श्री गणेशाय नम: || एकादेस हाल गणतन्त्रात्मक डेमोक्रेसीको अभ्यास गरिरहेकोछ | राष्ट्र-निर्माणका लागि सर्वप्रथम संविधान निर्माण अपरिहार्य छ भनेर पनि कुर्छी बुझिरहेकोछ | तर बुझपचाउन पनि खप्पिस छ | तथाकथित अगुवा हौं भन्नेहरूको स्वार्थमा संबिधान निर्माणले कच्छ्प गतिलिएको छ|बेला बुढो हुँदैछ,लग्न परपर सरिंदैछ | शाली ठूली हुन्जेल भिनाजुको परान भन्ने उखानझैं हुने हो कि ? एउटाले भन्दछ मेरो टोपी-गणराज्य हुनुपर्दछ | अर्कोले भन्दछ धोती-गणराज्य हुनुपर्दछ | हैन हैन भन्दै रनेले लंगौठी-गणराज्य माग्दछ | अर्को कुर्लिन्छ खुकुरी- गणराज्य हुनुपर्दछ | अर्को उफ्रिन्छ मेरो बोली-गणराज्य हुनुपर्दछ | यस्तै यस्तै खैनी गणराज्य, पानमसाला गणराज्य, ठाकुर-नाई गणराज्य,स्वर्णकार-गणराज्य,ताम्रकार गणराज्य , चुटीजनेउ-गणराज्य, हीरासमाज-गणराज्य, जीरासमाज-गणराज्य,बलात्कारी-गणराज्य, क्यासीनो- गणराज्य, मम-गणराज्य, दम-गणराज्य, मसाज-गणराज्य,धमास-गणराज्य , मनपरी-गणराज्य, लुटाहा-गणराज्य, मिचाहा-गणराज्य, गुण्डागर्दी-गणराज्य, ट्वाँट-गणराज्य, स्वाँठ-गणराज्य, हेराफेरी-गणराज्य, घुसबहार-गणराज्य, एड भेट चढाऊ-गणराज्य, कालोधन्दा-गणराज्य, शालो-धन्दागणराज्य, नामतेरो-काममेरो-गणराज्य, मुखमा रामराम बगलीमाछुरा-गणराज्य, जोगिजोगिनी-गणराज्य, भोगिभोगिनी- गणराज्य, किसन-गणराज्य, बिसन- गणराज्य , गिरि -गणराज्य , जाता-गणराज्य ,माधो -गणराज्य . चण्ड-गणराज्य, मुण्ड-गणराज्य , भट्ट- गणराज्य , राई- गणराज्य,सेर- गणराज्य ,सबासेर-गणराज्य , स्याल- गणराज्य ,तरबार-गणराज्य , दरबार -गणराज्य ,घरबार-गणराज्य , बंश-गणराज्य , अंश-गणराज्य , ब्रेन-ड्रेन गणराज्य , लुत्याहा-गणराज्य , भुत्याहा – गणराज्य , कलमकागजले तर्साई खाने -गणराज्य जस्ता कैयन कैयन गणराज्य धोती, कट्टु ,सुर्वालसम्म लगाउन बिर्सेर अहंकारको आगोमा राष्ट्रको आहुति दिन नाङ्गो नाच गरिरहेकाछन् | गर्ने होइन देख्ने लाजले भुतुक्क भइरहेकोछ | सम्बिधानको थलो आफै थला परेझैं छ | पति भएर रक्षाका टुलु-टुलु हेरिबसेकाछन् | गणराज्य गस्तीको गुफामा अड्की बसेकोछ | नेपालको बोली कहिल्यै हुन्न भोली | जनताको काम कहिले जाला घाम | मै खाउँ मै लाउँ अरु सब मरून् दुर्बलहरू मनसायका नेताले जनताकालागि ज्यानै फाल्छौ भन्दै बित्ता-बित्ता उफ्री रहेका नाटक बेडरूमदेखि रेस्टरूमसम्म, लन्चदेखि मंचसम्म, सेरदर्बारदेखि स्यालदर्बारसम्म जति हुय्या सुनेपनि हुन्छ | भोको पेटमा पटुका बाधी दिक्क भएको जनता जाल-जन्जाल बेहोर्दै बेहाल भइसकेको कुरा न नेटालाई थाहा छ,न फेटालाई थाहा छ | जनताको नामको माला फेर्दै ढुकुटी सोहर्दै जनताको बिधानलाई विपत्मा पार्दै कुर्लेका छन् कुर्लेका छन् कल बल छलले कुर्छी हत्याएकाहरू | कुर्छी घाटमा पुग्दा लासमै कुर्छिको बास होस् भनी पुरेतलाई जौतिल अर्पेकाले कुर्छीमा कोच्चिएर टास्सिन पुग्छन् | लाज त्यतै जाल भित्र लजाई रहेको देखिन्छ | यस्तै-यस्त छ एकादेसको कथा र गस्तीको शास्ती बेहोरिरहेको संबिधानको दशा | दशानानो हरेत् सीत्ताम् बन्धनम् स्यन्महोदधे | रावणले सीताको हरण गरेको बन्धन चाहिं समुद्रलाई परेको झैं भैरहेछ | जनता समुद्र नै हो ,रिसायो बनने सुनामी बन्छ |
- प्रभास आर.डी.








Recent Comments